बिहानै कारिब साढे पाँच बजे सिरानी छेउमा रहेको टेलिफोनको घण्टी (फोन गर्न नमिल्ने तर उठाउन मात्र मिल्ने फोन जुन मलाई घरबेटी सुनिल दाईले दिनु भएको थियो) सँगै निन्द्रा खुल्यो र फोन उठाएँ, हेलो …….. निकै हतास स्वरमा उताबाट जवाफ आयो, दीपक, राजदरबार त उड्यो हरे त ! भक्तपुरबाट साथी रङ्गकर्मी किरण राज ढुङ्गेल (जो त्यही वर्ष धादिङ्गमा मोटरसाइकल दुर्घटनामा बित्नुभयो) को फोन रहेछ त्यो। म जुरुक्क उठेँ, अचानक धेरै कुरा मनमा उठ्यो र अत्तालिँदै भने- कस्ले के गर्‍यो? जवाफमा ‘खै राजदरबारका सबैजना मारिए रे !’ केहि सोच्नै नसकी मैले प्रश्न गरे – कसले? माओवादीले हो? उताबाट जवाफ आयो, ‘खै कस्ले हो थाहा छैन।’
पुरै शरीर काँपे जस्तो महसुश भयो, टिसर्ट र एउटा ट्राउजर भिरेर म घर तल झरेँ। बडो अत्याश लाग्दो माहोल थियो, मानि हरु सानो सानो समूहमा भेला भएका थिए, उनीहरु कुरा गरिरहेका थिए तर भयभित देखिन्थे। अरुले नसुन्ने गरि कानेखुशी गरिरहेको भान हुन्थ्यो। एकै क्षणमा कोठामा फर्केर समाचार सुन्न टिभी खोलेँ। टिभीमा अचम्म लाग्ने धुन मात्र बजिरहेको थियो। दीपेन्द्र दाई (दीपेन्द्र पाठक जो मेरो गुरु र अभिभावक हुनुहुन्थ्यो र किरणसँगै बाइक दुर्घटनामा बित्नु भयो) लाई फोन लगाउन खोजेँ (फोन उठाउन मात्र मिल्ने भए पनि चोरि दाउले फोन गर्न एउटा साथीले सिकाएको थियो) तर फोन लागेन। सबै फोनहरुको लाइन काटिएका रहेछन।
केही सोच्नै नसकी निकै बेर कोठामा बसेर कारिब ८ बजेतिर नारायण गोपाल चोकतिर निस्किएँ, बाटोमा सवारी साधानहरु करिब बन्दजस्तै थिए। नारायण गोपाल चोकमा पुलिसको एउटा जत्था बसेको रहेछ। लाजिम्पाटतर्फ जान निषेध गरिएको रहेछ। खासमा के भएको? सबैमा कौतुहलतासँगै डर र पिडा झल्किन्थ्यो। विरेन्द्र, ऐश्वर्य लगायत सबैलाई छाउनी अस्पातल लगिएको छ रे, दीपेन्द्र जिबितै छन रे ! भन्ने हल्ला थियो। विश्वासै लागि रहेको थिएन, के साँच्ची अब हाम्रा राजा रानी हामी माझ छैनन् त? अब के हुन्छ? कसले गर्‍यो यो सबै? चारैतिर आर्मी, पुलिस, माहौल यस्तो भयवित देखिन्थ्यो कि कसैले कसैसँग केही सोध्ने समेत हिम्मत गर्दैन थियो। जति प्रश्न छन् मन मनै आफैँले आफैँलाई सोध्नु मात्र विकल्प थियो।
पत्रिकाहरुका फ्रन्टलाइनमा समाचारहरु छापिएका थिए । तर कस्ले घटना घटायो भन्ने बारे बोल्ने हिम्मत कसैले गरेको थिएन। अचानक विभिन्न खालका अफवाहहरु फैलन थाले। कसैले पारसले मारेको भन्न थाले त कसैले भारतबाट मखुन्डो लगाएका मान्छेहरु दरबार छिरेर हत्या गरेको भन्न थाले। दरबारमा त्यो राती रात्री भोज थियो भन्ने कुरा जानकारीमा आयो। सोही क्रममा दरबारका विरेन्द्रका परिवार मात्र हैन रात्रीभोजमा सहभागि अन्य ब्यक्तीहरु कुमार गोरख शम्शेर (श्रुतीका श्रीमान) कुमार खड्ग विक्रम (निर शाहका दाजु) लगायत दीपेन्द्र बाहेक १० जना को मृत्‍यु भइसकेको थियो । दीपेन्द्रको भने उपचार भइरहेको भन्ने समाचार आएको थियो। जसबाट केही आशा जागेको थियो, कमसेकम के भएको हो? कसले घटना घटाएको हो? दीपेन्द्र सरकारले बताउनु हुनेछ भन्ने भरोसा थियो। केहिबेरपछि राजा रानीको अन्त्यष्ठीआजै गर्ने भन्ने समाचार आयो। म हिँडेर सामाखुशी दीपेन्द्र दाइकोमा गएँ। सबै परिवार भयवित हुनुहुन्थ्यो। त्यो बेलासम्ममा फोन चालु भइसकेको थियो र विभिन्न ठाउँमा फोन गरेर सूचना लिइरहनु भएको थियो, दीपेन्द्र दाई। ४ बजे सोह्रखुट्टेको बाटो हुँदै शव यात्रा राखिएको कुरा जानकारी भएसँगै हामी पनि भारी मन लिएर शवयात्रामा सहभागी हुने निर्णय गर्‍यौं।
कपाल खौरनु पर्छ भनेर दीपेन्द्र दाइले नजिकैको शैलुनमा लैजानु भयो। हामी दुबैले कपाल खौरियौं। त्यो बेलासम्म हामीलगायत थोरै ब्यक्तीले मात्र कपाल खौरिएका थिए। तर त्यस्को केही दिन भित्र काठमाडौंमा यस्तो लहर चल्यो कि टाउकोमा कपाल भयको ब्यक्ती १- २ जना मात्र देखिन्थे। शैलुनले पनि निशुल्क कपाल खौरने अभियान नै चलाएको थिए।
कारिब ३ बजे देखि हामी सोह्रखुट्टेमा प्रतिक्षा गरेर बस्यौं। मानिसहरु यति धेरै जम्मा भएका थिए कि मानौं, छाउनी अस्पताल देखि पशुपतिसम्म मान्छेहरुको भिड थियो। करिब साढे ४ -५ बजे तिर होला राजा विरेन्द्रलगायत रानी ऐश्वर्य, श्रुती, निराजन लगायत राजापरिवारका सदस्यहरुको शवयात्रा हामी भए ठाउँमा आइपुग्यो, त्यती शालिन, सबैका मन मुटुमा बस्न सफल राजाको त्यो निरिह अनुहार देख्दा थाहै नपाई आँखाबाट आँशु झरेछन। त्यहाँ नरुने मान्छे प्राय बिरलै देखिन्थे। हामी त्यो भिड छिचोल्न नसकेर केहिबेर पछि फर्कियौं र टिभीमा प्रत्यक्ष प्रशारण हेर्न थाल्यौं। मैले जिन्दगीमा त्यतिको भावुक माहौल कहिले अनुभव गरेको थिइन।
त्यसपछि देशको राजनीतिक घटनाक्रम नाटकिय हुन थाल्यो। छाउनीमा उपचाररत दीपेन्द्रलाई राजा घोषणा गरियो, त्यस्को तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो। त्यहि दिन दीपेन्द्रको पनि अन्त्यष्ठी गरिने भयो। तर दीपेन्द्रको शव यात्रामा कर्फ्यु लगाइयो। कोही जनता बाहिर निस्कन नपाउने भए। त्यो बेला दीपेन्द्र देशका राजा थिए र शायद विश्वमा यो पहिलो घटना होला जहाँ देशको राजाको शवयात्रामा कर्फ्यु लगाइएको थियो।
यसरी एउटा अध्याय समाप्त पारियो। तर म मा उठेका धेरै अनुत्तरित प्रश्नहरु बोकेर अहिले पनि नेपालीहरु बाँचिरहेका छन्। शायद, यी प्रश्नहरुको जवाफ कहिले पनि पाइने छैन।
– कस्ले घटायो त्यो घटना?
– दीपेन्द्रले मारेको भनियो तर मरिसकेका दीपेन्द्रलाई किन जिवितै छन् भनेर राजा घोषणा गरियो?
– दीपेन्द्रको शव किन सार्वजनिक गरिएन, शव यात्रामा समेत किन कर्फ्यु लगाइयो?
– विरेन्द्रलगायत उनको परिवारको अन्तयष्ठी किन त्यती हतारमा गरियो? काठमाडौं बाहिरका जनतालाई आफ्ना प्यारा राजाको शवयात्रामा सहभागी हुने समय किन दिइएन?
– त्यो रात्री भोजमा राजाका शबै भारदार शहभागि हुँदा राजा का आफ्नै माइला भाई ज्ञानेन्द्र किन शहभागि भयनन?
– राजदरबार मा अबस्य सि सि क्यामेरा थियो, त्यो फुटेज किन सार्वजनिक गरियन?
– तारानाथ रानाभाट् ले भने जस्तै दीपेन्द्र ले र्याटाटाटा – भ्याटाटाटाटा बनाएर सबैलाई मारेर आँफु पनि मरेका भय दीपेन्द्र सुसाइड शूट गर्दा काँहा गोली लागेको थियो किन शार्वजनिक गरियन?
हजारौँ अनुत्तरित प्रश्नहरु लिएर मनभरि पिडा बोकेर बसेका नेपालीले यसको उत्तर कहिले पाउलान् ?
प्यारा राजा रानीप्रती हार्दिक श्रद्धाञ्ली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *